कोशी प्रदेश

कोशी अस्पतालको पोषण पुनःस्थापना केन्द्रबाट बालबालिका कुपोषणमुक्त

विराटनगर। विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनःस्थापना केन्द्रले कुपोषित बालबालिकालाई स्वास्थ्य पुनःस्थापना गर्दै सामान्य जीवनमा फर्काउन महत्वपूर्ण भूमिका खेलेको छ। दश शय्या क्षमताको यस केन्द्रमार्फत विसं २००४ देखि एक हजार ८७२ बालबालिकाले निःशुल्क उपचार पाइसकेका छन्।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। रुणा झाका अनुसार केन्द्रले भर्ना भएका बालबालिकालाई चिकित्सकको निगरानीमा सन्तुलित आहार, आवश्यक उपचार र परामर्श प्रदान गर्छ। साथै अभिभावकलाई पोषिलो खाना तयार पार्ने, खुवाउने र सरसफाइका व्यवहार सिकाउने व्यावहारिक प्रशिक्षण पनि दिइन्छ।

डा। झाले यस केन्द्रले बाल मृत्युदर घटाउन र मानसिक तथा शारीरिक विकासमा सहयोग गरेको बताए। विश्व स्वास्थ्य संगठनका अनुसार बालबालिकाको मस्तिष्कको ८० प्रतिशत विकास दुई वर्षभित्र हुन्छ, यस समयमा पर्याप्त पोषण नपुग्दा भविष्य जोखिममा पर्छ।

नर्सिङ इन्चार्ज चन्द्रकला सापकोटा र पोषणविद् जेनिशा दाहालले भने, “कुपोषण केवल खाना नपाउनु मात्र होइन, खान नजान्नु पनि हो। हामीले बालबालिका र अभिभावक दुवैलाई पोषणयुक्त खानेकुरा तयार गर्ने तरिका सिकाउँछौं।”

केन्द्रले कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, सोलुखुम्बु लगायत जिल्लाबाट आएका बालबालिकालाई भर्ना गरी उपचार गर्दै आएको छ। कुपोषित बालबालिका अस्पताल भर्ना हुनेबित्तिकै पोषणयुक्त आहार र निगरानीमा राखेर एक महिनाभित्र सुधार ल्याउने प्रयास गरिन्छ।

यस केन्द्रले न केवल बालबालिकाको जीवन मात्र बचाएको छैन, अपितु अभिभावकलाई पोषण र खानपिनमा सचेत बनाउँदै सम्पूर्ण परिवारको स्वास्थ्य सुधारमा समेत योगदान पुर्‍याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *