काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्गभन्दा बाहिर पुगेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकार गठनदेखि संसद् विघटनसम्मका कदमहरू असंवैधानिक भएको भन्दै ती निर्णयहरूका विरुद्ध एमालेको स्पष्ट धारणा रहेको बताए ।
बुधबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भने, “संसद् विघटन असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक छ । आजको बैठकमा सबै दलहरूले यही धारणा राखेका छन् । संसद् कायम रहँदा सबै समस्याको समाधान सम्भव थियो, तर ठूला षड्यन्त्रका कारण त्यो अवस्था असफल बनाइयो ।”
उनका अनुसार जेन जी आन्दोलनले उठाएका राम्रा विषयहरू संसद्मार्फत समाधान गर्न सकिने भएकाले संसद् पुनःस्थापना जरुरी छ । उनले सरकार र गृहमन्त्रीमाथि निर्वाचन गराउनेभन्दा निर्वाचन हुन नदिने नियतले काम गरिरहेको आरोप लगाए ।
बर्तौलाले भने, “राजनीतिक दलहरूले आफ्ना एजेन्डा लिएर जनतामाझ जान पाउने सुनिश्चितता सरकारले दिन सकेको छैन । सर्वोच्च अदालतले अहिलेको संवैधानिक संकटको परीक्षण गर्नेछ । संविधान संशोधन र ताजा जनादेशमार्फत अघि बढ्नु नै लोकतान्त्रिक मार्ग हो ।”
उनले हालको सरकारलाई संवादहीन र डरपूर्ण वातावरण सिर्जना गर्ने आरोप पनि लगाए । “गृहमन्त्री आफैं दलका नेताहरूलाई धम्क्याउँदै हिँडिरहेका छन्, गृह प्रशासन त्यसै ढंगले चलाइरहेका छन्,” उनले भने, “भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन । सरकार फागुन २१ गतेका लागि तोकिएको निर्वाचन रोक्ने प्रयासमा लागेको छ ।”
बर्तौलाले अन्त्यमा भने, “देशलाई पुनः संवैधानिक लिकमा ल्याउन संसद् पुनःस्थापना र निष्पक्ष निर्वाचन नै एकमात्र बाटो हो ।”



