काठमाडौं ।नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भई बयान कागज गराएका छन्।
एक महिलाले सामाजिक सञ्जालमार्फत चरित्र हत्या भएको भन्दै दिएको जाहेरीका आधारमा बस्नेतमाथि अनुसन्धान सुरु भएको हो।
बुधबार बिहान भोटाहिटीस्थित साइबर ब्युरोमा उपस्थित भएका बस्नेतले आफूमाथि लागेको आरोपबारे बयान दिएर फर्किएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए। ‘उहाँ बिहान उपस्थित हुनुभएको हो। सरकारी वकिलको निर्देशनअनुसार बयान लिएको छ, उहाँ फर्किनु भयो,’ एसपी अवस्थीले भने।
प्रहरीले यसअघि जिल्ला अदालत काठमाडौंमा बस्नेतविरुद्ध पक्राउ पुर्जी माग गरेको थियो। तर, अदालतले पुर्जी दिन अस्वीकार गरेपछि उनलाई बयानका लागि बोलाइएको हो। कानुनअनुसार, कुनै पनि आरोपित वा प्रतिवादीको बयान सरकारी वकिलको रोहबरमा लिइन्छ।
घटनाको सुरुवातमा एक महिलाले सामाजिक सञ्जालमार्फत आफूमाथि चरित्र हत्या भएको भन्दै साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। ब्युरोले प्रारम्भमा जाहेरी दर्ता नगरेपछि ती महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पठाएकी थिइन्।



