काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका राजनीतिक दलहरूभित्र विकृति र विसंगतिहरू फस्टाउँदै गएको आरोप लगाएकी छन्। उनले सरकारले सुशासन प्रवर्द्धन गर्न नसकेको र राजनीतिक दलहरू प्रणालीअनुसार अघि बढ्न नसकेको पनि बताएकी छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संसदीय अभ्यासलाई नै ‘निरिह थलो’ को संज्ञा दिइन्। उनले देशका लागि आवश्यक कानुनहरू बनाउन ध्यानपूर्वक अध्ययन नै नभएको र ठूला दलहरूले संविधानमा प्रश्न उठाएर संशोधनको सहमति गरे पनि त्यसका लागि आवश्यक छलफल हुन नसकेको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले कुनै व्यक्तिलाई आरोप लाग्दैमा बोल्न नपाउने गरी निलम्बन गरिने हालको व्यवस्थामाथि पनि प्रश्न उठाइन्। “कुनै आरोप पुष्टि नहुन्जेलसम्म निलम्बनमा पार्नु राम्रो होइन,” उनले भनिन्। उनले यो कस्तो लोकतन्त्र हो भनी प्रश्नसमेत गरिन्।
उनले नेपालमा शिक्षासम्बन्धी समस्या पनि एउटा ठूलो चुनौती रहेको उल्लेख गरिन्।




