बाँके। बाँकेको राप्ती नदी आसपासका उच्च जोखिममा रहेका बस्तीहरूमा आपत्कालीन तटबन्ध निर्माणसँगै बाढीको जोखिम कम भएको छ। तटबन्ध निर्माणपछि नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका झण्डै एक दर्जन बस्ती खतरामुक्त भएका छन्।
नरैनापुरका झिंगदेव वर्माले विगतमा बाढीले बारम्बार विस्थापित बनाएको अनुभव सुनाउँदै यसपालिको तटबन्धले ढुक्क बनाएको बताए। सोही गाउँकी रामप्यारी यादवले पनि बाढीका कारण महिला, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती बढी प्रभावित हुने गरेकाले तटबन्धले राहत दिएको बताइन्।
‘जनताको तटबन्ध कार्यक्रम’ अन्तर्गत लमही दाङले नयाँ प्रविधि प्रयोग गर्दै ४०० मिटर लामो आपत्कालीन तटबन्ध निर्माण गरेको छ। सिमेन्टका पोल, बाँस, बालुवा भरिएका बोरा र जालीको प्रयोग गरी तटबन्ध निर्माण गरिएको हो।
आयोजना प्रमुख डा. नारायण सुवेदीले स्थानीय मागअनुसार दुई महिनामा तटबन्ध निर्माण सकिएको जानकारी दिए। राप्तीसोनारी–७ का दीपनारायण बर्माले यस वर्ष कटान नहुने विश्वास व्यक्त गरे। वडा नं. ६ का वडाध्यक्ष लवराज खरेलले तटबन्धले बाढीपीडितलाई राहत दिएको बताए।
खल्ला झगडिया गाउँमा अस्थायी तटबन्ध निर्माण पूरा भएसँगै अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा तटबन्ध निर्माण सुरु गरिने जनाइएको छ। खल्लाझगडियामा ४०० मिटरको पक्की तटबन्ध निर्माण साई माँ दुर्गा भिन्सी जेभीले रु. ६ करोड ५ लाखको ठेक्कामा मङ्सिर २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।




