देश

मलका लागि रातभर लाइन, किसान दोधारमा : खेती गर्ने कि छाड्ने?

नवलपरासी। बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसानहरू सरकारले उपलब्ध गराउने रासायनिक मलका लागि रातिदेखि नै लाइनमा बस्न बाध्य भएका छन्। सहकारी संस्था र वडा कार्यालय अगाडि मलका लागि लामबद्ध भएका किसानहरू मल अभावको मारमा परेका छन्।

पाल्हीनन्दन–४ का किसान रामानन्दन हरिजनले भने, “रोपाइँ सकिएको दुई महिना बितिसक्यो, तर अहिलेसम्म मल पाएका छैनौं। अब पनि मल नपाए धान उत्पादन घट्ने खतरा छ।”

रातिदेखि लाइनमा बसेपछि बल्ल प्रतिकिसान २५ किलो युरिया मल पाएको उनले बताए। “खेती गर्ने कि नगर्ने भन्ने दोधारमै छौं,” उनले चिन्ता व्यक्त गरे।

हरपुरका अर्का किसान रवीन्द्र हरिजनका अनुसार बिहीबार राति ३ बजेदेखि सहकारी कार्यालयअगाडि लाइन लागेको थियो। लामो समयदेखि वर्षा नपरेर खेत सुक्खा भएका छन् भने धानबालीमा खडेरीको असर देखिन थालेको छ।

पाल्हीनन्दन–४ का वडाध्यक्ष रवीन्द्र सहानीले सबै किसानलाई पुग्ने गरी प्रतिकिसान २५ किलोको दरले युरिया मल वितरण गरिएको जानकारी दिए।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले किसानको गुनासोपछि मल वितरणको पहल भएको बताए। “मलको कोटा पर्याप्त छैन, बढाउन आवश्यक छ। सरोकार निकायसँग समन्वय गरेर समाधानतर्फ अघि बढ्नेछौं,” उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *