देश

कलाकार र स्रष्टाहरू माओवादीमा प्रवेश, प्रचण्डले स्वागत गर्दै भने– परिवर्तनको यात्रामा तपाईंहरूको साथ महत्वपूर्ण हुनेछ

काठमाडौं । फिल्म निर्माता तथा अभिनेता सुरेन्द्र बरालसहित कलाकार, लेखक र पूर्व जनप्रतिनिधिको टोली आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आयोजित कार्यक्रममा उनीहरूले माओवादी प्रवेश गरेका हुन्।

पार्टीमा प्रवेश गर्नेहरूमध्ये एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघका परिषद सदस्य चन्दु गोर्खाली, कांग्रेससँग आबद्ध लेखक तथा पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साईंलो’, फिल्म कलाकार केशर विषी, भीमबहादुर मगर, र रामेछाप नगरपालिकाका एकजना पूर्व वडाध्यक्ष प्रमुख छन्।

प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले खादा ओढाएर स्वागत गर्दै भने, “कलाकार र स्रष्टाहरूको साथ पाएपछि जनताको पक्षमा काम गर्न माओवादी केन्द्रलाई थप उर्जा मिल्नेछ।” उनले थपे, “यदि माओवादीले त्याग, समर्पण र संघर्ष नगरेको भए आजको परिवर्तन सम्भव हुने थिएन। तपाईंहरूको साथले यो परिवर्तनलाई जनमुखी बनाउने हाम्रो यात्रामा योगदान पुग्नेछ।”

प्रचण्डले केही तत्वहरू माओवादी र आफ्नो राजनीतिक उचाइप्रति चिन्तित भएको टिप्पणी गर्दै भने, “हामीले तीनपटक सरकारको नेतृत्व गर्दै ऐतिहासिक रूपान्तरणमा निर्णायक भूमिका खेलेका छौं। नेपाली समाजको नयाँ खाका कोर्न माओवादी प्रतिबद्ध छ।”

नवप्रवेशी लेखक गोर्खे साईंलो (ऋषिप्रसाद लामिछाने) ले कांग्रेसमा लामो समय बिताए पनि पछिल्लो समयको पार्टी प्रवृत्तिले आफूलाई निराश बनाएको बताए। “२०२२ सालदेखि कांग्रेसमा लागें, धेरै उतारचढाव देखें तर अहिले कांग्रेससँगको दूरी बढ्दै गयो। म अब जनपक्षीय परिवर्तनको पक्षमा माओवादी केन्द्रमा लाग्ने निर्णयमा पुगेको हुँ,” उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *