काठमाण्डौ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद अर्जुननरसिंह केसीले आगामी आर्थिक वर्षको बजेटमा मनोमानी ढंगले विनियोजन भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद केसीले बजेट प्रक्रिया संतुलित र न्यायसंगत नभएको भन्दै असन्तुष्टि जनाए ।उनले बजेटमा मन्त्री तथा शीर्ष नेताहरूका जिल्लामा असमान रूपमा बढी विनियोजन गरिएको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने बताए ।
‘दुई उपप्रधानमन्त्रीलाई मेरो आग्रह छ– तपाईहरूले प्रस्तुत गर्नुभएको बजेट सही हो कि हैन, त्यो हेर्नका लागि एक संसदीय समिति बनाऔं । यदि त्यो सम्भव छैन भने सुशासन समिति वा सार्वजनिक लेखा समितिमा पठाइयोस्,’ सांसद केसीले भने ‘जसरी मनपरी ढंगले विनियोजन गरिएको छ, त्यो दुःखद् मात्र होइन, खेदजनक पनि हो।’
उनले बजेटको वितरणमा समान व्यवहार भएको छैन भन्दै प्रश्न गरे । ‘नयाँदेखि पुराना सबै सांसदप्रति समान व्यवहार भयो कि भएन ? मन्त्रीहरू र शीर्ष नेताका जिल्लामा राखिएको बजेट र अन्य जिल्लाको बजेट तुलना गर्दा के स्थिति देखिन्छ ? यसबारे छानबिन गर्नुपर्छ’ उनले भने ।
सांसद केसीले संसदमार्फत बजेट विनियोजन प्रक्रिया सुधार गर्न दबाब दिनुपर्नेमा जोड दिएका छन् ।




