देश

मकवानपुरमा पारिवारिक विवादले एक महिला हत्या, देवर नाता पर्ने युवक खुकुरीसहित पक्राउ

मकवानपुर।थाहा नगरपालिका–१, कुन्छालमा एक ५० वर्षीया महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। मृतक महिलाको टाउको र शरीर छुट्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय ३५ वर्षीय विमलमान गोपालीले आफ्नी भाउजू तुलमाया गोपालीमाथि बिहीबार दिउँसो २:२० बजे खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार घटनास्थलमै महिलाको मृत्यु भएको हो। हत्या गरिएका तुलमाया गोपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल, काठमाडौँ पठाइएको छ।

घटनापछि फरार रहेका विमलमान गोपालीलाई दिउँसो ३:३५ बजे थाहा नगरपालिका–३, थाना बजारबाट खुकुरीसहित नियन्त्रणमा लिइएको र हाल इलाका प्रहरी कार्यालय, पालुङमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान पूरा गरेको बताउँदै, थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जानकारी दिएको छ। हत्या पारिवारिक विवादको कारण हुन सक्ने अनुमान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *