काठमाडौं । सरकारविरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेतको हिरासत अवधि थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले बस्नेतलाई थप ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो।
खोटाङकी बस्नेतलाई साइबर ब्यूरोले सोमबार पक्राउ गरेको थियो। टिकटक लाइभमार्फत सरकारप्रति आलोचनात्मक र अमर्यादित अभिव्यक्ति दिएको अभियोगमा उनलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समर्थक हुन्।
उनको गिरफ्तारीको रास्वपाले विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएको छ। पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौला सहित केही नेता–कार्यकर्ता आज अदालतमा उपस्थित भएका थिए।
रास्वपाले यस मुद्दालाई राजनीतिक पूर्वाग्रहसहितको कारवाही भन्दै आलोचना गरिरहेको छ। बस्नेतको गिरफ्तारी सामाजिक सञ्जाल प्रयोगको दायरा र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी बहसमा फेरि नयाँ तरंग ल्याएको छ।




