ढोरपाटन (बागलुङ)। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन्। मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आएका उनले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टी नयाँ गतिमा अगाडि बढिरहेको उल्लेख गरे।
मध्यपहाडी जनजागरण अभियानमा आम नागरिकका गुनासा र सुझाव ग्रहण गर्दै पार्टी अगाडि बढिरहेको बताउँदै अध्यक्ष दाहालले यो अभियानले देशमा नयाँ राजनीतिक वातावरण बनाउने विश्वास व्यक्त गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आगामी दिनमा राष्ट्रिय एकतालाई सुदृढ गर्दै किसान, मजदुर र उत्पीडित वर्गका समस्या समाधानमा केन्द्रित हुने वातावरण बनाउने उल्लेख गरे।
आफू प्रधानमन्त्री हुँदा देशमा ठूला परिवर्तन भएको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसहित अन्य कतिपय योजना तत्कालीन समयमा थालनी गरेको दाबी गरे। मध्यपहाडी लोकमार्गले मध्यपहाडमा बस्ने लाखौँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उनले विश्वास व्यक्त गरे।
अध्यक्ष दाहालले भने, “नेपालमा स्वच्छ र स्वस्थ राजनीति गर्ने परिपाटीको विकास भएको छैन। अबका दिनमा सबै राजनीतिक दल इमानदारीपूर्वक जनताका पक्षमा केन्द्रित हुनुपर्ने जरुरी छ। पार्टीले सुरु गरेको मध्यपहाडी जनजागरण अभियानमा माओवादी केन्द्रप्रति जनताको आशा पलाएको पाएका छौँ। यो यात्रा आम नागरिकको सुझाव ग्रहण गर्ने र पार्टीलाई मजबुत बनाउनका लागि हो।” पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको बताउँदै उनले यसलाई न्यूनीकरण गर्न पार्टीले खबरदारी गर्दै आएको उल्लेख गरे।




