काठमाडौं । बुधबार बिहान काठमाडौंको गौशालास्थित पिंगलास्थानमा यात्रुवाहक बस अनियन्त्रित भई सातवटा सवारी साधनलाई ठक्कर दिएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्, जसमा दुई जना मोटरसाइकल चालकसमेत छन्।
जिल्ला प्रहरी परिसरका अनुसार एयरपोर्टतर्फ जाँदै गरेको गोकर्णेश्वर यातायातको बा।५ ख ६७३५ नम्बरको बसले कार, मोटरसाइकल र स्कुटरहरूलाई एकपछि अर्को गर्दै ठक्कर दिएको हो।
घाइते हुनेमा धादिङका राजकुमार श्रेष्ठ, नुवाकोटका विकाश कट्टेल र खोटाङका शैलेन्द्र राई छन्। बस चालक भने घटनापछि फरार भएका छन् र उनको खोजी भइरहेको छ।
प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ। दुर्घटनामा संलग्न बसले तीन वटा कार, दुई वटा मोटरसाइकल, एक हायस र एक स्कुटरमा क्षति पुर्याएको छ।




