
काठमाडौं। वैदेशिक रोजागारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–५ बस्ने दैलेख भगवतीमाई गाउँपालिका–१ घर भएका ३५ वर्षीय हिक्मतकुमार थापा र काठमाडौं महानगरपालिका–२९ बस्ने बारा आदर्श कोतवाल गाउँपालिका–८ घर भएका ३० वर्षीय जिक्रुल्लाह मिया रहेका छन् ।
पक्राउ मध्ये हिक्मतले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र जिक्रुल्लाहले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो ।
प्रहरीका अनुसार हिक्मतलाई टोखा नगरपालिका–५ बाट र जिक्रुल्लाहलाई ललितपुर महानगरपालिका–२ बाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।