देश

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

मुस्ताङ। सन् १९५३ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टासी’ को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ। अमेरिकी प्रविधि कम्पनी एप्पलले निर्माण गर्न लागेको यो फिल्मको ठूलो टोली अहिले मुस्ताङ आइपुगेको छ।

नेपालका विभिन्न जिल्लामा छायाङ्कन गर्ने योजना बनाएको यो फिल्म युनिट अहिले मुस्ताङमा छायाङ्कनका लागि आइपुगेको छायाङ्कन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिए। उनका अनुसार करिब ३०० भन्दा बढी जनशक्तिसहित ८० भन्दा बढी कार तथा भ्यान, ५० भन्दा बढी साना ठूला सामान बोक्ने ट्रक र १० भन्दा बढी शौचालय, बाथरुम, भान्सा तथा सुत्ने व्यवस्था भएका सवारी साधन मुस्ताङ भित्रिएका छन्।

टोली यहाँ आएपछि जोमसोम र पुथाङ विमानस्थलका करिब दुई दर्जन होटल एक महिनाका लागि अग्रिम बुकिङ भइसकेको गुरुङले बताए। घरपझोङ गाउँपालिका–५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ–१ को लक्कीमा सो फिल्मको छायाङ्कन हुनेछ।

यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा पनि फिल्मको छायाङ्कन गर्ने योजना रहेको गुरुङले बताए। सगरमाथा आरोही शेर्पाको हिमाल आरोहण, हिमाली सभ्यता, यहाँको जैविक विविधतालगायतका परिदृश्य फिल्ममा समेटिने बताइएको छ। मुस्ताङमा यो फिल्म छायाङ्कनका लागि वेडनेस आउटडोर कम्पनीले सम्बन्धित स्थानीय तहलाई ‘लोकेशन’ छायाङ्कनका लागि एक हप्ताअघि राजस्व शुल्कसमेत बुझाइसकेको छ।

पर्यटन र आर्थिक विकासमा योगदान
जिल्लाका तीन पालिकामा छायाङ्कन हुने फिल्मको युनिट आएसँगै जोमसोमका होटल भरिभराउ भएको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिए। पर्यटन व्यवसायी भट्टचनले राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै मुस्ताङमा हलिउड, बलिउड र कलिउड फिल्म छायाङ्कन गर्नेक्रम बढेको बताए। “मुस्ताङमा यस प्रकारका फिल्म छायाङ्कनले यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र फिल्मका माध्यमबाट यहाँको पर्यटन विकास र प्रवर्द्धनमा ठूलो सहयोग पुर्‍याउँछ,” उनले भने।

मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड फिल्म ‘खुदा गवाह’ छायाङ्कन भएको थियो। त्यसपछि सबैभन्दा ठूलो लागतको हलिउड चलचित्र ‘टासी’ छायाङ्कन हुन लागेको हो। मुस्ताङका धार्मिक तथा पर्वतीय पर्यटन विकासमा यहाँ छायाङ्कन हुने चलचित्रले टेवा पुर्‍याउने गरेको छ। मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्म छायाङ्कन भइसकेका छन्। यसैगरी सर्ट मुभी, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ प्रसिद्ध छायाङ्कन केन्द्र बन्दै जान थालेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *