देश

निजी विद्यालयमा अनुगमनको विरोध : डर देखाउने काम बन्द गरियोस्

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका निजी विद्यालयहरूमा गरेको अनुगमनप्रति निजी विद्यालय सञ्चालकहरू असन्तुष्ट बनेका छन्। प्याब्सन र एनप्याब्सन नामक दुई ठूला संघसंस्थाले यस्तो अनुगमनले शैक्षिक स्वतन्त्रतामाथि असर पार्ने भन्दै आपत्ति जनाएका हुन्।

यी संस्थाहरूको भनाइमा, गुणस्तरीय शिक्षा दिन लागिपरेका निजी विद्यालयहरूलाई अनुगमनको नाममा डर देखाउने र मानसिक दबाब दिने काम भइरहेको छ। शुल्क, गुणस्तर र अन्य व्यवस्थापनको विषय उठाउँदै विभागले अनावश्यक हस्तक्षेप गरिरहेको उनीहरूको आरोप छ।

सोही विषयमा प्याब्सन अध्यक्ष कृष्ण अधिकारी, सहअध्यक्ष गोपाल आचार्य र एनप्याब्सन अध्यक्ष सुभाषचन्द्र न्यौपानेले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेटेर गुनासो राखेका थिए।

मन्त्री भण्डारीले निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै, शिक्षा व्यवसाय नभई सेवा भएकाले यस्ता अनुगमन तुरुन्त रोक्न निर्देशन दिने प्रतिबद्धता जनाए। ूनिजी विद्यालयले उल्लेखनीय योगदान गरेका छन्, त्यसैले विभागबाट हुने अनावश्यक डर देखाउने कार्य तुरुन्त बन्द गरिन्छ,ू उनले भने।

प्याब्सनले आफूहरूलाई जानकारी नदिई गरिएको अनुगमनप्रति पनि आपत्ति जनाउँदै विद्यालयहरूलाई विभागको सोझो सम्पर्कमा नजान आग्रह गरेको छ। साथै, राज्यका निकायहरूले डर, त्रास र हतोत्साहित गर्ने कार्य नगर्नु पर्नेमा जोड दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *