देश

बुल्दीखोलामा पुल निर्माण सम्पन्न, आवतजावत सहज

तनहुँ। जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठबाट बसपार्क आवतजावतका लागि बुल्दीखोलामा पुल निर्माण सम्पन्न भएको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको जानकारी दिए। पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ।

विसं २०८२ भदौ ३० गते सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तर, सम्झौताअगावै २०८२ वैशाख २२ गते नै निर्माण सम्पन्न भएको थियो। उक्त पुलको लम्बाइ २५ मिटर र चौडाइ ८.४० मिटर रहेको छ। पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत मूल्य अभिवृद्धि करसहित ६ करोड २८ लाख ९४ हजार ६९० रुपैयाँ लागत लागेको छ।

यसमा संघीय सरकारको १ करोड ३५ लाख रुपैयाँ रहेको छ भने बाँकी रकम व्यास नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गरिएको छ। कामलाई निरन्तरता दिने हो भने सम्झौताअगावै काम सम्पन्न गर्न सकिन्छ भन्ने गतिलो सन्देश अन्य निर्माण व्यवसायीलाई समेत दिएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर विजय थापाले गरेको तेस्रो पक्ष मूल्यांकनमा कुनै पनि कैफियत नदेखाई मूल्यांकन पास भएपछि निर्माण कम्पनीलाई अन्तिम किस्ता भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको छ।

पुल बनेपछि सवारी आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर बस्ती संरक्षणमा सहयोग पुग्ने बताइएको छ। बर्खायाममा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *