
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ ।सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ । शनिवार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरूले आफ्ना धारणा राख्नुभएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।
प्रमुख सचेतक घिमिरेकाअनुसार सांसदहरूले बजेट लगायत विविध विषयमा खुलेर छलफल गरेका छन् । बजेट कसरी वितरण हुन्छ भन्नेबारेमा सांसदहरूले प्रश्न गरेका थिए । साथै समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्नेगरी बजेट विनियोजन हुनुपर्ने काँग्रेस सांसदहरूको भनाइ छ ।
उनले भने ‘आज बजेट लगायतका विविध विषयहरूमा छलफल गर्नको लागि यो बैठकको आयोजना गरिएको हो । सांसदहरूले बजेट लगायत विविध विषयमा खुलेर छलफल गर्नुभयो । सक्रियतापूर्वक सहभागिता जनाउनु भयो । डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छौँ । दुई वटा शोक प्रस्तावहरू । नगिना यादवको पितृको स्वर्गारोहण भएको र ओखलढुंगाका पूर्व पार्टी सभापति एवं जिल्ला विकासका पूर्वसभापति महेश कर्मोचाको निधनमा शोक प्रस्ताव पारित गरेका छौँ । गभर्नरको विषयमा पनि कुरा उठ्यो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा समान ढंगले गर्नुपर्छ, क्षेत्रगत रुपमा सन्तुलित विकास हुनुपर्छ भन्ने कुरा पनि भयो ।’
संसदीय दलको बैठकमा ठूलो दलको हिसाबले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरूले आवाज उठाएका छन् ।