राजनीति

राजा, हिन्दू धर्म र सङ्घीयता खारेजीको कुरा गर्दा प्रताडित गरियो: राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, हिन्दू धर्म मान्छु, सङ्घीयता खारेजी हुनुपर्छ भन्दा सरकारले प्रताडित बनाएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा शुक्रबार अध्यक्ष लिङ्देनले राजा, हिन्दू राष्ट्र मान्छु, सङ्घीयता मान्दिनँ, प्रदेशको खारेजी हुनुपर्छ, देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार हुनुहुन्न, भ्रष्टाचारीहरूलाई दण्डित हुनुपर्छ भन्नेहरूले यस प्रकारको प्रताडित हुनुपर्ने हो भने सरकारले विद्रोहमा जाऊ भन्नुपर्ने अवस्था आउने बताए।

उनले भने, “सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर उल्लङ्घन गरिराखेको छ। करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई विचारकै कारणले राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु, सङ्घीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ। आज फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको छ। आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लैजाने हो भने म प्रधानमन्त्री र गृहमन्त्री र सिङ्गो सरकारलाई सभामुख महोदयमार्फत् भन्न चाहन्छु, यसरी निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौँ।”

उनले थपे, “सरकारले भन्नुपर्‍यो विद्रोहमा जाऊ भनेर, जङ्गल पस भनेर भन्नुपर्‍यो। यो अत्यन्त दुःखद्, मानव अधिकारविरुद्ध, प्रजातान्त्रिक हक अधिकारविरुद्ध, अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरुद्ध सरकारको तर्फबाट क्रियाकलाप भइरहेको छ।”

नेपाल प्रहरीको साइबर ब्युरोले राप्रपा निकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्ष सुजित केसीलाई बिहान ९ बजे घरबाटै पक्राउ गरेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार घरमै रहेका केसीलाई बिहान ९ बजेतिर आएका प्रहरीले पक्राउ गरेका हुन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *