देश

सरकार, दल र व्यवस्थाप्रति जनतालाई विश्वास दिलाउन आवश्यक : हितराज पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जनतालाई विश्वास दिलाउनु अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन् ।

सरकार, दल र व्यवस्थाप्रति जनतालाई विश्वास दिलाउन आवश्यक रहेको उनको भनाइ छ । उनले उपलब्ध स्रोत र साधनको उपयोग गरेर औद्योगिक विकास गर्न नसकेसम्म अगाडि बढ्न नसकिने समेत उल्लेख गरे । पाण्डेले अगामी आर्थिक वर्षको बजेटमा छिटो उत्पादन दिने र परिणाममुखी योजनाहरूलाई प्राथमिकतामा राख्न आग्रह समेत गरे ।

उनले सरकारले जेन–जी पुस्ताको कुरामा समावेश गर्नु स्वागतयोग्य रहेको उल्लेख गर्दै उनले भर्खर जन्मेका शिशुहरूको कुरामा समेत ख्याल गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।

उनले भने ‘हामीसँग स्रोत साधनहरू उपयोग गर्ने गरेर जबसम्म उद्योग निर्माण गर्न सक्दैनौँ तबसम्म हामीले जतिसुकै कुरा गरेपनि अगाडि जान नसक्ने भयौँ । अहिलेको समस्या भनेको जनताको विश्वास वृद्धि कसरी गर्ने भन्ने हो । सरकारप्रति, दलप्रति, व्यवस्थाप्रति, जनतालाई विश्वास दिलाउन आवश्यक रहेको छ । विश्वमा छिटो छिटो भइरहेको विकासका लागि कार्यगत रुपमा हामीले छिटो उत्पादन दिने खालका विषयवस्तुहरूमा ख्याल गरौँ । जेन–जीको कुरा पनि आएको छ । त्यो ठिक छ तर भर्खर जन्मेको शिशुको बारेमा पनि हेर्नुप¥यो । त्यसकारण कार्यगत कुरा र नीतिगत कुरामा ख्याल गरेर अगाडि जानुपर्छ ।’

अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य बनाउन प्रमुख सचेतक पाण्डेको सुझाव छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *