
काठमाडौं । सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले थप अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न पाउने भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंले विष्टलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
विष्टले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी कारागार पठाउन भन्दै प्रहरी र डिल्लीबजार जेललाई पत्र लेखेका थिए। तर सो पत्र अदालतको आधिकारिक नमानिएको भन्दै उनी वैशाख १७ गते पक्राउ परेका हुन्।
अदालत प्रशासनले विष्टको पत्रलाई ‘अनधिकृत’ मानेपछि अब उनीमाथि लिखत किर्तेसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार यो प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नता पनि हुनसक्ने शंका छ, जसका लागि थप अनुसन्धान आवश्यक छ।