देश

साढे दुई अर्ब लगानीमा ठमेलमा खुल्यो आलिशान हेरिटेज होटल

काठमाडौँ। ठमेलमा नेपाली कला, संस्कृति र आतिथ्यताको अनुपम संयोजनसहित ‘आर्या होटल एन्ड स्पा’ नामक एक भव्य हेरिटेज होटल सञ्चालनमा आएको छ। जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल लगानीमा यो होटल खुलेको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक सिम्खडाले नेपाली पर्यटनको उज्ज्वल भविष्य देखेर नै आफ्नै देशमा लगानी गरेको बताए। “मैले जापानमा बस्दा धेरै महत्वपूर्ण कुरा सिक्ने अवसर पाएँ। उनीहरूले आफ्नो कला र संस्कृतिलाई लामो समयदेखि जगेर्ना गरेका छन्। मलाई पनि आफ्नै देशमा आएर केही गर्नुपर्छ भन्ने सोचले यो होटलको निर्माण सुरु गरेँ,” उनले भने।

सिम्खडाको विचारमा ठमेल विदेशमा नेपाललाई चिनाउने एउटा महत्वपूर्ण माध्यम हो। नेपाल आउने प्रायः सबै पर्यटक ठमेल नपुगी फर्किँदैनन्। नेपालबाट स्वदेश फर्कंदा उनीहरूले नेपाली कला र संस्कृतिको विशिष्ट अनुभव लिएर जान पाऊन् भन्ने उद्देश्यले आफ्नै परिकल्पनामा यो होटल निर्माण गरिएको उनले बताए। होटललाई फरक र मौलिक बनाउन विशेष ध्यान दिइएको छ।

होटलको मुख्य प्रवेशद्वारबाट भित्र पस्नेबित्तिकै नेपाली शिल्पकलाले स्वागत गर्छ। परम्परागत पहिरनमा सजिएका कर्मचारीले हार्दिक आतिथ्यता प्रदर्शन गर्छन्। होटलको पहिलो तल्लादेखि नै नेवारी शिल्पकलाको उत्कृष्ट प्रस्तुति देख्न सकिन्छ। होटलका थाम, कुर्सी र कुसनमा नेपालीपन झल्काउने प्रयास गरिएको छ। यो होटल ठमेलको नरसिंह चोकमा अवस्थित छ।

होटलको लबीमा मयूर झ्याल र देशमरु झ्यालको सुन्दर मिश्रणसहितको उत्कृष्ट काष्ठकला देख्न पाइन्छ। होटलमा प्रयोग गरिएका टुँडाल, फाल्चा र आँखीझ्याल जस्ता परम्परागत नेपाली कलाकृतिले जो कोहीलाई पनि मोहित पार्छ। पाहुनालाई स्वागत गर्न पनि नेपाली परम्परालाई नै अँगालिएको सञ्चालक सिम्खडाले बताए। करिब २० आना जग्गामा निर्मित यो होटलमा जग्गासहित दुई अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको छ। “विदेशका आधुनिक होटल त सबैले हेर्छन् तर नेपाली कला र संस्कृति झल्कने होटल निर्माण गर्न सकियो भने यसले हाम्रो संस्कृति संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउँछ भन्ने मेरो विश्वास छ,” सिम्खडाले भने। ७२ वटा कोठा रहेको यस होटलमा ४१ वटा डिलक्स रुम छन्, जसलाई आधुनिक र परम्परागत गरी दुई शैलीमा डिजाइन गरिएको छ। परम्परागत शैलीमा डिजाइन गरिएका कोठाहरूमा नेपाली कलाको विशेष झलक देख्न सकिन्छ।

होटलका हेरिटेज रुमहरूमा भक्तपुरमा निर्मित तेलिया इँटा प्रयोग गरिएको छ। परम्परागत शैलीका कोठाहरूमा ऐनाको फ्रेमदेखि दराजको ढोकासम्म काष्ठकलाले सजिएका छन्। होटलका रुमहरू स्वयम्भू, धरहरा र सहरको सुन्दर दृश्य देखिने गरी तयार पारिएका छन्। दुईवटा सभाहल रहेको होटलको १२औँ तलामा ‘सोरा’ नामक अल डे डाइनिङ रेस्टुरेन्ट छ। त्यसैको छेउमा ‘स्काई लाइन सोरा’ पनि छ, जहाँ सिसाको भुइँमा स्काई वाकको अनुभव लिँदै डिनर गर्न सकिन्छ। यहाँ १६० अमेरिकी डलरदेखि १६०० अमेरिकी डलरसम्मका विभिन्न श्रेणीका कोठाहरू उपलब्ध रहेको जानकारी सञ्चालक सिम्खडाले पत्रकारहरूलाई दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *