देश

किसानद्वारा उत्पादित खाद्य वस्तुको बजार सुनिश्चित गर्न माग

काठमाडौँ। सांसदहरूले किसानले उत्पादन गरेका खाद्य वस्तुको बजार सुनिश्चित गर्न माग गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनीहरूले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन बजार सुनिश्चितताको माग गरेका हुन्।

बैठकमा सांसद सुशीला श्रेष्ठले गत वर्षको तुलनामा यसपटक संशोधनको संख्या बढेको र नयाँ कुरा आएको जनाउँदै आएका संशोधन र सुझाव समावेश गरेर नीति बन्ने विश्वास व्यक्त गरिन्। “विरोधका लागि विरोध गर्ने प्रचलन अन्त्य हुनुपर्छ। राम्रा कुरालाई लिएर नराम्रा कुरालाई सच्याएर एकताको आधारमा अगाडि बढ्नु राम्रो हुन्छ,” उनले भनिन्, “यसपटक फजुल खर्च रोक्ने नीति आएको छ। सरकारले अनलाइन सेवा विस्तार गर्ने कुरा धेरै राम्रो छ। किसानले उत्पादन गरेका खाद्य वस्तुको बजार सुनिश्चित गराउने नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ।”

सांसद रामप्रकाश चौधरीले धेरै महत्वाकांक्षी कुरा राखिए पनि किसानले सिँचाइ सुविधा नपाउने र मल समयमा नै नपाउँदा उनीहरू चिन्तित रहेको जनाउँदै यी व्यवस्था नीतिमा प्राथमिकता दिन सके कृषि वस्तुको आयात प्रतिस्थापन गर्न सहज हुने बताए। “हाइड्रोजन ऊर्जा विकास गरिनु, उद्यमशीलता नीति, रोजगारी सिर्जना गर्ने र स्टार्टअप नीति लागू गर्ने नीति स्वागतयोग्य छन्,” उनले भने, “खानेपानीको समस्या छ। खानेपानीको सहज आपूर्ति र गुणस्तरमा ख्याल गर्दै अधुरा खानेपानी आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने छ। जलासययुक्त खानेपानी र जमिनमुनिको पानी पुनर्भरण गर्नुपर्छ।”

यसैगरी सांसद योगेन्द्र मण्डलले कृषि उपज वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउने नीति कार्यान्वयन गर्न चुनौती रहेको बताए। “राम्रो सिँचाइको व्यवस्था छैन। किसानले समयमा नै मल पाउन सकिरहेका छैनन्। अनि कसरी हुन्छ कृषिमा मुलुक आत्मनिर्भर?” उनले भने, “परराष्ट्र नीति सन्तुलित हुनुपर्छ।”

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *