राजनीति

नीति तथा कार्यक्रमले सङ्घीयता सम्वर्द्धन गर्न सकेन: माओवादी सांसद शाही

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सङ्घीयताको प्रभावकारी कार्यान्वयन र आत्मनिर्भर अर्थतन्त्रको विकासमा पर्याप्त ध्यान दिन नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसद शाहीले युवाहरूलाई उत्साहित गर्ने कुनै ठोस योजना नभएको र विकट कर्णाली क्षेत्रलाई हेर्ने दृष्टिकोणसमेत अस्पष्ट रहेको बताए।

उनले मुलुकको प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गरी आर्थिक विकास गर्ने सन्दर्भमा नीति तथा कार्यक्रमले कुनै स्पष्ट मार्गनिर्देशन नगरेको उल्लेख गरे। कर्णालीको कृषि र जडीबुटीको विकासमा सरकारले ध्यान नदिएको उनको आरोप थियो।

संविधानमा समाजवादको अवधारणा उल्लेख भए पनि सरकारले निजीकरणलाई प्रोत्साहन गर्ने नीति लिएको नीति तथा कार्यक्रमबाट स्पष्ट भएको भन्दै सांसद शाहीले आर्थिक विषयमा थप स्पष्टता आवश्यक रहेको बताए।

बन्द रहेका विमानस्थलहरू सञ्चालन गर्नुपर्ने र ठूला भौतिक पूर्वाधारको निर्माणमार्फत आर्थिक विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो। ठूलो लगानीमा अध्ययन गरेका चिकित्सकहरूलाई मुलुकभित्रै टिकाउन सक्ने कार्यक्रम नभएकोमा उनले गुनासो गरे।

नेपालको विशिष्टतामा आधारित कृषि क्षेत्रको विकासमा ध्यान दिनुपर्ने, देशका ४० वटा भन्सार कार्यालयलाई पूर्ण रूपमा स्वचालित बनाउनुपर्ने र साना भन्सार कार्यालयहरूलाई थप व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए।

सांसद शाहीले चालु खर्च घटाउन विगतका अध्ययन प्रतिवेदनका आधारमा तत्काल प्रभावकारी कदम चाल्न, अनावश्यक ठानिएका सरकारी कार्यालयहरू बन्द गर्न र कर्मचारीको सङ्ख्या घटाउन सरकारलाई सुझाव दिए।

आवश्यक स्थानमा बजेट नपुग्ने र अनावश्यक स्थानमा बढी हुने अवस्थाको अन्त्य गर्नुपर्ने तथा राष्ट्रिय आवश्यकताका आधारमा सक्षम र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने उनको भनाइ थियो। स्थानीय र प्रदेश सरकारलाई थप बलियो बनाउन सबैको साझा र सार्थक पहल आवश्यक रहेकोमा उनले जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *