काठमाडौँ। सांसदहरूले काठमाडौँमा प्रदर्शन गरिरहेका शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले शिक्षकहरूको शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद भएको बताउँदै शिक्षकहरूमाथि भएको अभद्र व्यवहार रोकिनुपर्ने धारणा राखे।
साथै, सांसदहरूले विद्यालय शिक्षा ऐन ल्याएर शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसदहरूले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले तत्काल पहल गर्नुपर्ने बताए। उनीहरूले आइतबार शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरी दर्जनौं शिक्षक घाइते बनाएको घटनाको भर्त्सना गर्दै राज्यले ऐन बनाएर शिक्षकको जायज माग पूरा गर्नुपर्नेमा जोड दिए। उनीहरूले विगतमा सरकार र शिक्षकहरूबीच भएको सम्झौता कार्यान्वयन गर्न पनि माग गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित माग तत्काल पूरा गर्न सरकारसँग माग गरिन्। शिक्षकहरूको विरोध प्रदर्शनले बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भएको भन्दै उनले चाँडो शिक्षकहरूलाई विद्यालय फिर्ता पठाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले पत्रकारमाथि भएको आक्रमणको पनि निन्दा गरिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले शिक्षकमाथि भएको दमन, पानीको फोहोरा र कुटपिटजन्य घटना दुःखद भएको भन्दै शिक्षकको माग पूरा गर्न सरकारसँग आग्रह गरे। उनले शिक्षक आन्दोलनका क्रममा पत्रकारमाथि भएको आक्रमणको निन्दा गरे। साथै, उनले आवासीय चिकित्सकको जायज माग पनि यथाशीघ्र सम्बोधन गर्न माग गरे।
नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षक आन्दोलनका क्रममा आइतबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरे। प्रहरी र शिक्षक दुवै राष्ट्रसेवक भएको भन्दै उनले दुवै पक्ष संयमित हुनुपर्नेमा जोड दिए। उनले विद्यालय शिक्षा ऐनको प्रगतिबारे शिक्षामन्त्रीले संसदलाई जानकारी गराउन पनि माग गरे।
आम जनता पार्टीका सांसद प्रभु साहले गए रातिको हावाहुरीसहितको असिनापानीले मधेस प्रदेशका बारा, रौतहतलगायत जिल्लामा मकैबाली र आँपलगायत उत्पादन नष्ट भएको तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको भन्दै पीडित किसानलाई राहत र अवरुद्ध सेवा चाँडो सुचारु गर्न सरकारको ध्यानाकर्षण गराए।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सर्लाहीको बसबरियास्थित विद्यालयको व्यवस्थापकीय सुधारमा ध्यान दिन आग्रह गरे। सांसद रणेन्द्र बरालीले शिक्षकको माग सम्बोधन गर्न तथा दलितमाथि भइरहेको भेदभावजन्य घटनाको अन्त्य गर्न माग गरे। सांसद कान्तिका सेजुवालले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा घाइते शिक्षक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।




