तानसेन (पाल्पा)। गोरखाबाट सुरु भएको नेपाली सेनाको तेस्रो गोरखा–जितगढी पदयात्रा टोली पाल्पा आइपुगेको छ। चैत २८ गतेदेखि सुरु भएको यो पदयात्रा गोरखा, तनहुँ र स्याङ्जा हुँदै पाल्पा आइपुगेको हो।
स्याङ्जा र पाल्पाको सीमाना केलादीघाटमा आइपुगेपछि स्याङ्जाबाट आएको टोलीले पाल्पामा तैनाथ फौजलाई झण्डा हस्तान्तरण गरेको थियो। पाल्पास्थित नेपाली सेनाको द फेमस महीन्द्र दल गणले केलादीमा टोलीलाई भव्य स्वागत गरेको छ। स्वागत कार्यक्रममा स्याङ्जा चापकोटा नगरपालिका–६ का वडाध्यक्ष तारादेवी पोखरेलले पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण गर्नुभयो।
ऐतिहासिक गढी, किल्ला, युद्धस्थल र पदमार्गको संरक्षण, सम्वर्धन र प्रवद्र्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले यो ११ दिने पदयात्रा आयोजना गरेको हो। नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा यो पदयात्रा भइरहेको छ।
‘दि फेमस महिन्द्र दल गण’ र पदयात्राको प्रतिनिधि मण्डलले मंगलबारदेखि पाल्पाका विभिन्न गढी तथा किल्लाको भ्रमण गर्ने कार्यक्रम छ। बुधबार टोली केलादीघाट हुँदै देवीस्थान बगैंचा, श्रीनगर होटल दर्छा सिताकुण्ड, तुने भञ्ज्याङ्ग, बेलडाँडा, सिलुवा पिलुवा जब्गादी र विरकोटसम्म ३५ किलोमिटर यात्रा गर्नेछ। ‘दि फेमस महिन्द्र दल गण’का गणपति प्रमुख सेनानी भूपेन्द्र गुरूङ्गका अनुसार वैशाख ३ गते विरकोटबाट बाकुमगढी, देउराली, हुमिन, देविनगर, झडेवा, जगत र गोठादी हुँदै माथागढीसम्म ३९ किलोमिटरको पदयात्रा हुनेछ। वैशाख ४ गते माथागढी, गोठादी, झडेवा, हर्नेटार, मर्मरा शिकारकोट, दमार, सराई माडी दमकडा हुँदै बाँसटारी प्रभाससम्म ३५ किलोमिटरको यात्रा तय गरिएको छ।
वैशाख ५ गते प्रभास, लामडाँडा, बर्तुङ्ग, तानसेन, काजीपौवा हुँदै पुनः प्रभाससम्म १७ किलोमिटर यात्रा गरी बास बस्ने कार्यक्रम छ। सोही दिन तानसेनका प्रमुख स्थानको अवलोकन र कर्णेल उजिर सिंह थापाले निर्माण गरेको भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ। वैशाख ६ गते प्रभासबाट डुम्रे, मस्याम हटिया, मरेक र रानीवास दोभानसम्म ३२ किलोमिटरको यात्रा हुनेछ।
वैशाख ७ गते, जुन दिन नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरी विजय उत्सव मनाएको थियो, पदयात्रा टोली दोभान नुवाकोटगढी देउराली पुगी बुटवलबाट आएको तारादल गणको टोलीलाई झण्डा हस्तान्तरण गर्नेछ र जितगढी विजय उत्सवमा सहभागी हुनेछ।
पदयात्राका संयोजक सेनानी जितबहादुर कार्कीले नेपाल अंग्रेज युद्धमा अंग्रेज फौजलाई परास्त गर्न प्रयोग भएका गढी, किल्ला र पदमार्गको पहिचान गरी त्यसको प्रर्वद्धन गर्न यो पदयात्रा सञ्चालन गरिएको बताए। “एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जगेर्ना गर्ने र ऐतिहासिक एकीकरण सम्बन्ध भावी पुस्तालाई हस्तान्तरण गर्ने यो अवसर पनि हो,” उनले भने, “यसले राष्ट्रिय एकताको भावनालाई थप बलियो बनाउनेछ।” पर्यटनको सम्भावना खोज्दै पदमार्गको विकास गर्ने र वर्तमानलाई भविष्यसँग जोड्ने उद्देश्यले यो पदयात्रा आयोजना गरिएको कार्कीले जानकारी दिए।
पदयात्रामा नेपाली सेनाका ५३ अधिकृत, सकलदर्जा र सुरक्षाकर्मी सहभागी छन्। गोरखाबाट सुरु भएको यो पदयात्रा रूपन्देहीको जितगढी किल्लामा पुगेर विजय उत्सवमा सहभागी भई समापन हुनेछ। १८७२ वैशाख ७ गते अंग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिनको स्मरण गर्दै बुटवल उपमहानगरपालिकाले हरेक वर्ष जितगढी किल्लामा विजयोत्सव मनाउँदै आएको छ। तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले जितगढी किल्लालाई केन्द्र बनाएर झण्डै तीन महिना अंग्रेजसँग लडेको थियो र दुई पटक अंग्रेज सेनाको आक्रमणलाई परास्त गर्दै गोरखपुरसम्म लखेटेको थियो।




