
काठमाडौं । खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ छितापोखरीस्थित सुम्निमा पारुहाङ पार्कमा रहेको किराँत समुदायका आदिपूर्खा सुम्निमा, पारुहाङ र बाबु चिन्डोका मूर्तिहरू अज्ञात समूहद्वारा तोडफोड गरिएको घटनाको स्थानीय समुदायले छानबिन गरी दोषीमाथि कारबाहीको माग राखेका छन् । गएराती चैत्र ३० गते साँझ भएको सो घटनाप्रति सुम्निमा पारुहाङ पार्क संरक्षण समिति र स्थानीयले आपति जनाउदैँ सो घटनाको छानबिन गरी दोषीमाथि कानुन अनुसारको कारबाही गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् । सो घटना घटनासाथ सोही गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले एक विज्ञप्ती जारी गर्दै सो घटनाको भत्र्सना गर्दै दोषीमाथि खोज अनुसन्धान हुने र आवश्यक कारबाही गर्ने समेत जनाएका छन् ।
गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ –घटनालाई “अक्षम्य अपराध” भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। सुम्निमा पारुहाङ पार्क गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक हो, जहाँ सरकारले पटक–पटक बजेट विनियोजन गर्दै आएको छ। उक्त मूर्तिहरू तीन वर्षअघि प्रदेश सरकारको योजनाअन्तर्गत निर्माण गरिएका थिए भने बाबु चिन्डोको मूर्ति एक वर्षअघि स्थानीय ध्रुव कुमार राईले स्थापना गरेका थिए।
यस्तै सुम्निमा पारुहाङ पार्क संरक्षण समितिले यस घटनालाई किराँत समुदायमाथिको हमला भन्दै गम्भीर आपत्ति जनाएको छ। समितिका अध्यक्ष विकास राईले यस्तो निन्दनीय गतिविधिले समुदायको धार्मिक आस्था, संस्कृति र सार्वजनिक सम्पत्तिमा गम्भीर क्षति पुगेको बताएका छन्। समितिले आगामी नयाँ वर्षमा आयोजना गर्न लागिएको किराँत राई समुदायको महान पर्व साकेला भने पूर्वघोषित कार्यक्रम अनुसार नै हुने जनाएको छ।
यसैबीच, धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले गृहमन्त्रीलाई पत्र पठाउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरेका छन्। उनले यस्तो घटनाले सामाजिक सद्भाव, राष्ट्रिय एकता र देशको समग्र शान्ति सुरक्षामा खतरा उत्पन्न गर्ने भन्दै राज्यलाई जिम्मेवार भूमिका लिन आग्रह गरेका छन्।
स्थानीय सरकार, नागरिक समाज र किराँत समुदायले मिलेर घटनाको निष्पक्ष छानबिन र शान्ति सुरक्षाको सुनिश्चितता सुनिश्चित गर्न आग्रह गरेका छन्। दोषी पहिचान गरी कारबाही नगरेमा समुदायमा अझ ठूलो असन्तोष फैलिन सक्ने चेतावनी पनि दिइएको छ।