कोशी प्रदेश

फोक्सिङ्टारको पुल निर्माणका लागि ३५ करोड बजेट स्वीकृत

काठमाडौं । खोटाङ र उदयपुर जिल्ला जोड्ने सुनकोशी किनामा निर्माण गरिएको गत असोजको बाढीले बगाएको फोक्सिङ्टारको पुल पुनर्निर्माणका लागि सरकारबाट ३५ करोड रुपैयाँ बजेट छुट्याइएको छ। नेकपा एमालेका सांसद तथा पोलिटब्युरो सदस्य विशाल भट्टराईले पुल निर्माण प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिए । उनले समाजिक संजाल फेसबुकमा एक स्टाटस राखी सो जानकारी गराएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशव शर्मा र विभागीय महानिर्देशक रामहरि पोखरेलले पुल निर्माणबारे आवश्यक तयारी पूरा भइसकेको बताएका छन्।

बेलिब्रिजको विकल्प खोजीमै समय बित्यो

बाढीपछि तत्कालै भारत र चीनलाई १२० मिटरको बेलिब्रिज उपलब्ध गराउन अनुरोध गरिए पनि अपेक्षित सहयोग नपाएको जनाइएको छ। “अर्काको भरमा बस्नु परेको अवस्था हो, तर ठोस परिणाम नआएको यथार्थ पनि स्वीकार्नुपर्छ,” सांसदले भने।

सरकारले आवश्यक डिजाइन र इष्टिमेट तयार गरेर स्वदेशमै खरिद गर्ने प्रयास पनि गर्‍यो तर सम्भव भएन। “कागजपत्रहरू सुरक्षित छन्,” भन्दै उनले प्रक्रिया पारदर्शी रहेको संकेत दिए।

अब जेठमा हालको अस्थायी बेलिब्रिज हटाइने र मंसिरसम्मको समय कष्टकर हुने देखिएको छ। स्थायी, दिगो र सुरक्षित पुल निर्माणका लागि निरन्तर खबरदारी आवश्यक भएको सांसद भट्टराईको भनाइ छ।

पुल निर्माणले स्थानीय बासिन्दाको जनजीवनमा उल्लेखनीय सहजता ल्याउनेछ। तर, तत्कालका लागि जोखिम व्यवस्थापन र वैकल्पिक उपायहरूको अभावले चुनौती थपिएको स्पष्ट छ।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *