काठमाडौं । संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफललाई तिव्र पारेका छन्। तर, अहिलेसम्म कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन।
बिहीबार बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे बस्ने भनिए पनि सम्भव नभएपछि शुक्रबार बिहान ११ः०० बजेका लागि स्थगित गरिएको थियो। संसद सचिवालयले सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आज बिहान ११ः०० सम्मका लागि स्थगित गरिएको जनाएको थियो।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि प्रतिनिधि सभा बैठक गत बुधवारदेखि अवरुद्ध हुँदै आएको छ। प्रतिपक्षी दलहरूले घिसिङ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरिरहेका छन्। तर, प्रधानमन्त्री ओलीले यो सरकारको नीतिगत निर्णय भएको भन्दै संसदमा जवाफ दिन अस्वीकार गरेपछि सत्ता पक्ष र प्रतिपक्षबीच विवाद गहिरिएको छ।
सभामुख निरन्तर छलफलमा
संसदको गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग निरन्तर छलफल गरिरहेका छन्। तर, चार दिन बितिसक्दा पनि समाधान निकाल्न नसकिएको अवस्थामा आजको बैठकबाट केही सहमति खोजिने अपेक्षा गरिएको छ।
प्रतिपक्षी दलहरू आफ्नो अडानमा कायम रहेको र सत्ता पक्षले पनि लचकता नदेखाएको कारण संसद बैठक अझै अन्योलमै रहेको छ। सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी नजुटेसम्म संसद सञ्चालनमा कठिनाइ रहने देखिन्छ।प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद बैठकले गरेका सबै विषयमा जवाफ दिन उचित नहुने बताइसकेका छन् ।
सत्ताप्रतिपक्ष दलले अदातलमा गइसकेको विषयमा अदालतको मानमर्दन हुने गरी संघीय संसदमा विवाद निकाल्न नहुने सरकारले बताउँदै आएको छ । सत्ताप्रतिपक्ष राजनीतिक दलहरुले संघीय संसदमा भएको विवादमा चर्काचर्की गरेर सरकारलाई गिराउन खोज्ने र सरकारको निर्देशन नमान्ने परिपाटीले समाजमा नकरात्मक असर पर्ने गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा सर्वोच्चको आदेशलाई स्वीकार्नुपर्ने मान्यता ।




