
विराटनगर। कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ। कोशी सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली, २०८१’ लाई स्वीकृति गरेको छ। समस्याग्रस्त सहकारी संस्था तथा सङ्घ व्यवस्थापन समितिको सदस्य–सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका लागि रु एक करोड २८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा रु एक अर्ब ५० करोड र राजस्व बाँडफाँटको अनुमानित सीमा रु एक अर्ब १० करोड स्वीकृत गरेको छ। उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि रु एक करोड ५० लाख बाँडफाँड गर्न पनि स्वीकृति प्रदान गरिएको छ।
राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित ‘आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज, २०८१’ पनि आजकै बैठकले स्वीकृत गरेको छ।