काठमाडौं । माओवादी प्रतिनिधिसभा सदस्य रामकुमार राईले ‘आत्महत्या दुरुत्साहनको आरोपीलाई छुटाउन माओवादी सांसद राईको चलखेल’ भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । राईको स्वकीय सचिवालये बुधबार संकल्पखबरलाई पत्र पठाउँदै समाचारमा उल्लेख भएका विषयप्रति आपत्ति जनाउँदै समाचार दुराशयपूर्ण ढंगले आएको जनाएको छ ।
सचिवालयले पठाएको पत्रमा भनिएको छ, ‘हाल जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धान गरिरहेको आत्महत्या दुरुत्साहन जस्तो गम्भीर प्रकृतिको मुद्दामा राज्यको चौथो अंग भनिने सञ्चारमाध्यमबाट अत्यन्तै लापरबाहीका साथ आत्मकेन्द्रीत साथै दुराशायपूर्ण समाचार सम्प्रेषण हुनु दुःखद रहेको छ । समाचारको नाममा लेखिएका निराधार र कपोलकल्पित आरोपहरुलाई खारेज गर्दै त्यस्ता तथ्यहरु भए प्रमाणित गर्न सम्बन्धित सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई चुनौती दिइन्छ ।’
सांसद राईको सचिवालयले पीडित परिवारले नै सांसदलाई फोन गरेर सहयोगको याचना गरेको र त्यस विषयमा शीघ्र तथा निष्पक्ष अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई समेत अनुरोध गरेको कुरालाई तोडमोड गरेर उल्टै पीडित पक्षलाई अनुचित दबाब दिएको, अनुसन्धानलाई प्रभावित पार्न खोजेको जस्ता भ्रामक तथा कपोकल्पित भएको उल्लेख गरेको छ ।

खोटाङबाट निर्वाचित सांसद राईको सचिवालयले पीडक पक्षलाई छुटाउन पीडित पक्षलाई कुनै प्रभाव र दबाब नदिएको भन्ने दाबी गरे पनि संकल्पखबरलाई प्राप्त अडियोमा सांसद राईले स्पष्टसँग दबाब दिएको सुन्न सकिन्छ । सांसद राईले बोलेका अडियो हामीसँग सुरक्षित छ । आवश्यक परेका बेला सार्वजनिक गर्ने नै छौं ।
दिपू्रङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी धिप्लुङका २१ वर्षीय सुमन खड्काले स्थानीय देवान राईको कुटपिट र गाली बेइज्जती सहन नसकेर गत मंसिर ९ गते आत्महत्या गरेका थिए । पीडित परिवारको किटानी जाहेरीका आधारमा राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर सांसद राईले भने जिल्ला प्रहरी कार्यालय खोटाङमा फोन गरेर चाँडो अनुसन्धान सकाउन दबाब दिइरहेका छन् । पछिल्लोपटक उनले प्रहरीलाई चाँडो रिपोर्ट बुझाउन दबाब दिएको स्रोतले जनाएको छ । प्रहरीले अझै अनुसन्धान नसकिएको र कागजात संकलन गर्ने क्रम जारी रहेको जनाएको छ ।
हामी हाम्रो समाचार र समाचार स्रोतप्रति विश्वस्त छौँ ।




