मुख्य समाचार

विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता थियो : महामन्त्री थापा

काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा नै व्यक्तिको स्वतन्त्रता भएको भन्दै स्वतन्त्रता नभइकन समानता सम्भव नरहने विपीको सोच रहेको बताए ।

उनले समानताको पूर्वशर्त भनेको स्वतन्त्रता रहेको बताए । स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर विपीको लागि रहेको उल्लेख गर्दै उनले स्वतन्त्रतामा टेकेर समानताका लागि विपीले प्रयत्न गरेको बताए । उनले विपीले जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता भन्ने सिद्धान्त अघि सारेको स्मरण गरे ।

‘विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा भनेको व्यक्तिको स्वतन्त्रता हो । वैयक्तित स्वतन्त्रता हो । स्वतन्त्रता नभइकन समानता सम्भव छैन । समानताको पूर्वशर्त भनेको स्वतन्त्रता हो । एउटै मात्र मन्त्र भनेर नौजवानलाई भन्नुपर्‍यो भने, तिम्रो विपीले के भन्नुहुन्थ्यो भन्यो भने एक लाइनमा भन्नुपर्दा म यही भन्छु । स्वतन्त्रता सबैभन्दा मुख्य तत्व हो । स्वतन्त्रता समानताको पूर्वशर्त हो । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जुन समानताको कुरा गर्छौं, त्यसको पूर्वशर्त भनेको स्वतन्त्रता हो । त्यो स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर विपीको लागि रह्यो । त्यो समानताका लागि विपीले प्रयास र प्रयत्न गर्नुभयो । तर स्वतन्त्रतामा टेकेर । जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता छैन,’महामन्त्री थापाले भने ।

महामन्त्री थापाले विपीको लागि स्वतन्त्रता नै अन्कम्प्रमाइजिङ कुरा भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *