काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह साहूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
साहूले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बीए तह उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेका थिए । तर उक्त प्रमाणपत्रलाई अख्तियारले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको दाबी गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति भइ लाभ, सुविधा लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वीर सिंह शाह भन्ने बिर सिंह शाहूलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१)बमोजिम सजाय हुन मागदाबी लिई आरोप पत्र दायर गरिएको हो ।




