काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले आफूलाई यो अपमानजनक पदबाट कहिले मुक्त पाइएला भन्ने चिन्ता लागेको बताएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले यस्तो बताएका हुन् ।
आर्थिक अवस्था र देशको अवस्थाबारे धारणा राख्दै गौतमले भने, ‘र यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भन्ने मलाइ लाग्छ ।’ सरकारमा भएकाले मात्रै यो अवस्थाको जिम्मेवारी बहन गर्नुपर्ने नभई सबैले नेपाल समृद्ध बनाउने कुरामा सोच्नुपर्ने गौतमको भनाइ छ ।
गौतमले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट कस्तो किसिमको समाज निर्माण गर्ने भन्ने विषय संविधानमा व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार र राजनीतिक दलले ध्यान दिन नसकेको टिप्पणी गरे । उनले बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्न सकिन्छ भनेर आजसम्मका प्रधानमन्त्रीले ढाँचासमेत प्रस्तुत गर्न नसकेको जिकिर गरे ।




