विश्व

डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

काठमाडौं । डेनमार्कका युवराज फ्रेडरिकलाई राजा घोषित गरिएको छ । युवराज फ्रेडरिकलाई आइतबार त्यहाँका प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका बीबीसीले जनाएको छ ।

अघिल्लो दिन, रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो । आइतबार फ्रेडेरिक शाही उत्तराधिकारी घोषणा भएसँगै दरबारबाहिर हजारौँ मानिसहरू भेला भएका थिए ।
नयाँ वर्षका दिन टेलिभिजन कार्यक्रममा बोल्दै रानी मार्गरेटले राजगद्दी सम्हालेको ५२ वर्ष पुगेको दिन जनवरी १४ मा पद त्याग्ने घोषणा गरेकी थिइन् । ८३ वर्षीया मार्गरेट डेनमार्कको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी हुन् ।

उनले सन् १९७२ मा आफ्नो बुबा राजा फ्रेडरिक नवौँको मृत्युपछि शासन ग्रहण गरेकी थिइन् । अहिलेको डेनमार्कको राजतन्त्र १० औँ शताब्दीदेखि चल्दै आएको बताइन्छ । यसलाई युरोपमा सबैभन्दा पुरानो र विश्वकै पनि पुरानोमध्ये एक राजतन्त्रात्मक देशको रूपमा चिनिन्छ । अहिले शाही परिवारका कर्तव्यहरू धेरै हदसम्म औपचारिक छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *