देश

ती बाबाको त्रिकालदर्शीपन त गलत रहेछ

काठमाडौं । १५ वर्ष अघिको कुरा हो, मातातीर्थमा बस्ने एकदम ठूला ज्योतिषी बाबा छन् रे भनेको सुनिएको थियो । एकजना दिदी ज्योतिषी र बाबाहरूमा असाध्यै श्रद्धा राख्ने भएकीले उनले मलाई पनि लिएर गइन्, ती मातातीर्थका बाबाकहाँ । प्रकाण्ड ज्योतिषी, त्रिकालदर्शी जे भन्यो त्यही ठ्याक्कै हुने ती बाबाको कुरा सुन्ने लोभले मलाई पनि तानेको त थियो नै ।

बिहान ६ बजे मातातीर्थको बाबाकहाँ पुगेपछि एक घन्टा कुर्नुपर्यो, अनि बाबाजीले मलाई पनि दर्शन दिए । दक्षिणा राख्नुहोस् भनेर उनले भनेपछि मैले २० रु राखेंँ । रकम थोरै भयो कि क्या हो, कर्के नजरले हेरेर उनले मलाई भने, ुतपाईको आर्थिक अवस्था राम्रो रहेनछ । तपाईलाई आर्थिक संकट भविष्यमा परिरहनेछ । श्रीमानले खाना दिएर खान पाउने नत्र भोकै पर्ने स्थिति रहेछ । तर त्यसबाट मुक्ति दिलाउन म प्रयत्न गर्छु । एक महिनापछि यहाँ जप हुँदैछ । २५ हजार दीयो बाल्नका लागि पैसा छोड्नु होला, सबै ठीक हुन्छ ।

मेरो अवस्था त्यति नराम्रो त थिएन । आफैं कमाउँथेँ । मैले लगाएको पुरानो लुगाले बाबालाई मेरो आफ्नो कमाइ छैन भन्ने लागेछ क्यारे । ती बाबाको ुत्रिकालदर्शीपन त गलत रहेछ भन्ने भान भयो । त्यसको एक हप्तापछि नै एक पत्रिकामा ती बाबाको नालिबेलीसहित फोटो र जालसाजीको घटना निस्कियो । त्यसपछि आफू कति मूर्ख भएको रहेछु भनेर रिस पनि उठ्यो । तर २० दिनपछि त्यही आश्रमबाट तपाइर्ंको २५ हजार जप गर्नका लागि पैसा छोडिदिनुस् भनेर फोन गरे । मैले भइहाल्यो जपसप गर्नु पर्दैन भनेर फोन राखौँ । त्यसपछि बाबासाबाकहाँ जाने मेरो काम बन्द भयो, ।

कतिजना नाम कहलिएका बाबाहरू आफ्ना भक्तिनीसँग यौनसम्बन्धु राख्छन् र त्यो कारणचाहिँ भक्तिनीहरूको पापमोचन गर्ने तरिका हो भनेर बाबा भन्छन् रे । त्यसो भए पुरुष भक्तहरूको पापमोचन त कसरी हुने होला, किनभने बाबाले पुरुषसँग चाहिँ सम्बन्ध राख्दैनन् ।

भारतका भगवान मानिने आशारामको किशोरी र महिलाहरूको यौन शोषणको खबरले धेरै ठाउँ पाएको थियो ।
यी तिनै आशाराम बाबु हुन्, जसले २०१२ डिसेम्बर २६ मा एक युवतीमाथि बलात्कार हुँदा भनेका थिए, यदि ती युवतीले सरस्वतीको मन्त्र पढेको भए, बलात्कारीहरूलाई तिमीहरू मेरो दाजुभाइ हौ, मलाई छोडिदेऊ भनेको भए र केटा साथीसँग बसमा नचढेको भए उनको बलात्कार हुँदैनथ्यो ।

अरूलाई नैतिक शिक्षाको पाठ पढाउने यी धर्मगुरु कति यौनपिपासु रहेछन् र कसरी महिलाहरू आफ्नो जालमा फसाउँदा रहेछन् भन्ने कुरा खुलेपछि त अहिले कति जनालाई साँच्ची नै योगी र सन्तप्रति पनि शंका छ ।
हुन त केहि वर्षअघि युरोप र अमेरिकाका गिर्जाघरका पादरीहरूले बालकहरूलाई शारीरिक र यौनशोषण गरेको कुरा सार्वजनिक भएपछि, यसले गर्दा भ्याटिकनलाई आच्छु(आच्छु परेको थियो ।

पादरीहरूले यौनशोषण गरेका कतिपय बालकहरू वयस्क भएपछि, टिभी र पत्रपत्रिकामा आएर कसरी धर्मगुरुबाट यौन हिंसाको सिकार भए भन्ने र शारीरिक(मानसिक रूपमा पनि पीडित हुन पुगे भन्ने कुरा भनेका थिए ।
अर्को एकजना निर्मल बाबाको पैसाको ठगी त भारतीय छापामा आएपछि ती बाबाको विज्ञापन त रोकियो । तर आफ्नो पैसा कालो पर्समा राखे पैसा बढ्छ भनेर ती बाबाले भनेको सुनेर कालो रंगको पर्स किन्ने धेरै महिलाहरू पनि थिए । ती बाबाको ुठगीु पछि कति जनाले धत्तेरिका भनेका थिए ।

तर कुनै अर्को नयाँ बाबा आएपछि फेरि ती महिलाहरू नयाँ बाबाको पछि लागिहाल्छन् ।
धार्मिक गुरुहरू भन्दैमा उनीहरूले यौनहिंसा गर्न सक्दैनन्, बदमासी गर्न सक्दैनन्, ठगी गर्न सक्दैनन् भन्ने हाम्रो विचारलाई केही परिवर्तन गरौं र ठगीको सिकार नबनौं । धर्मका दृष्टिकोणले हेर्ने हो भने त यो हाम्रो शरीर नै मन्दिर हो र यहीभित्र ईश्वरको बास हुन्छ ।

अनि किन बाबाको चक्करमा परेर समय र पैसा बर्बाद गर्ने । यदि साँच्चिकै धार्मिक गुरु छन् भने उनी न पैसाको माग गर्छन्, न त उनको पाउमा ढोग गर्नु भन्छन् । सत्य बाबाहरूले त गरिब र दुःखीको सेवा नै ईश्वर सेवा हो भन्ने सिकाउँछन् । त्यो गर्ने हो भने तपाईंलाई बाबाको पाउमा पर्न पर्दैन । सायद अब त बाबाहरूको वास्तविकता बाहिर आएपछि त हामीहरूको अन्धविश्वासमा केही कमी आउला कि रु

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *