खेलकुद

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले टस जित्यो

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुदैछ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अहिले दोस्रो स्थानमा छ । सेमिफाइनलमा पुगिसकेको हुनाले दक्षिण अफ्रिका बिना दबाब यो खेल खेल्ने छ । यो खेलको नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन र दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ ।

त्यस्तै अफगानिस्तानले ८ खेलमा ४ खेल जितेर ८ अंक हासिल गर्दै अंक तालिकामा छैटौं स्थानमा छ र सेमिफाइनलको दौडमा कायम रहेको छ । अफगानिस्तानले दक्षिण अफ्रिकासँग फराकिलो जित हासिल गरेर सेमिफाइनलमा स्थान बनाउने लक्ष्य राखेको छ । सेमिफाइनलको एक स्थानका लागि न्यूजील्याण्ड र पाकिस्तानसँगै अफगानिस्तान प्रतिष्पर्धामा रहेका छन् । र यसको निर्णय अन्तिम खेलबाट हुदैछ ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म केवल एक एकदिवसीय खेल भएको छ । जुन २०१९ को विश्वकपमा भएको थियो र यो खेल दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो ।

दक्षिण अफ्रिकाको प्लेइङ ११- टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, रस्सी भान डेर दुस्सेन, एडेन मार्करम, डेभिड मिलर, एन्डीले फेहलुकवायो, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज र गेराल्ड कोएत्जी ।

अफगानिस्तानको प्लेइङ ११- हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, नूर अहमद र नवीन उल हक ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *