काठमाडौँ ।अस्ट्रेलियाकी महिला क्रिकेट टिमकी कप्तान मेग ल्यानिङले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छिन् । ल्यानिङको आफ्नो १३ बर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरको अन्त्य गरेकी हुन् ।
उनले आफ्नो कप्तानीमा अष्ट्रेलियालाई ४ टी–२० विश्वकप र एक एकदिवसीय विश्वकप जिताएकी थिइन् । यससँगै उनले २०२२ को राष्ट्रमण्डल खेलकुदमा स्वर्ण पदक पनि जिताएकी थिइन् ।
गत फेब्रुअरीमा दक्षिण अफ्रिकामा भएको टी–२० विश्वकपपछि उनले अन्तर्राष्ट्रिय खेल खेलेकी छैनन् । ल्यानिङले फ्रेन्चाइज लिग खेल्न भने जारी राख्ने बताएकी छन् । उनी वूमन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सकी कप्तान समेत हुन् । उनी महिला बिग ब्यास लिगमा मेलबर्न स्टार्सकी कप्तान हुन् ।
बिहीबार मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी) मा सन्यासको घोषणा गर्दै ३१ वर्षीय ल्यानिङले भनिन्- ‘अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढिने निर्णय लिन गाह्रो थियो तर अहिले मेरो लागि सही समय आएको महसुस गर्छु । १३ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको आनन्द लिन पाउँदा म आफूलाई भाग्यमानी ठान्छु, तर मलाई थाहा छ यो मेरो लागि केही नयाँ गर्ने उपयुक्त समय हो ।’
ल्यानिङले १८ वर्षको उमेरमा अस्ट्रेलियाका लागि टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् २०१० मा खेलेकी थिइन् । उनले आफ्नो १३ वर्ष लामो करियरमा ६ टेस्ट, १०३ एकदिवसीय र १३२ टी-२० खेल खेलेकी छिन् । उनले यी तीन ढाँचामा ८ हजारभन्दा बढी रन बनाएकी छन् ।
ल्यानिङले ७८ ओडिआईमा अष्ट्रेलियाको कप्तानी गरेकी छन् । जसमा टोलीले ६९ खेल जितेको छ । उनको कप्तानीमा अस्ट्रेलियाले १०० टी–२० अन्तर्राष्ट्रिय खेलमा ७६ खेल जितेको छ । उनको कप्तानीमा अष्ट्रेलियाले चार टेस्ट खेलेको छ र चारैमा जित हासिल गरेको छ ।




