काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल समशेर जबराले जिल्ला प्रशासन कार्यालयले चाहेमा सामाजिक सञ्जालको प्रयोगलाई निषेध गर्नसक्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद जबराले देशमा धार्मिक द्वन्द्व हुनसक्ने खतरालाई औँल्याउँदै संवेदनशील जिल्लामा जिल्ला प्रशासन कार्यालयले चाहेमा केही दिनलाई सामाजिक सञ्जाल निषेध गर्न सक्ने व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
‘इजरायलमा हुने संकटले नेपालमा पनि संकट ल्याउन सक्ने सम्भावना देखा परिरहेको छ । दुई समुदायबीच भनाभन र इजरायलको कुरालाई लिएर नेपालका दुई धार्मिक समुदायबीच टिका, टिप्पणी भइसकेको छ’, उनले भने, ‘यसकारण हामीले संवेदनशील जिल्लामा टिकटक, रिल लगायत अरु माध्यमलाई जिल्ला प्रशासनले केही दिनका लागि निषेधको व्यवस्थासहितको अधिकार मिलाउँदा राम्रो होला ।’
उनले यसो हुन नसकेमा नेपालमा समस्या आउन सक्ने सम्भावना देखा परिरहेको बताए । सामाजिक सञ्जाललाई तुरुन्तै नियमन गर्नु आवश्यक रहेको उनले बताए ।




