खेलकुद

क्रिकेट विश्वकपको पहिलो खेलमा आज इङल्याण्ड र न्यूजील्याण्डको भिडन्त

काठमाडौँ । आजदेखि आइसीसी एकदिवसीय विश्वकप शुरु हुदैछन् । क्रिकेट विश्वकपको आज पहिलो दिन गत विश्वकपको फाइनल खेलेका इङल्याण्ड र न्यूजील्याण्ड भिड्दैछन् ।

विश्वकपको डिफेन्डिङ च्याम्पियन इङल्याण्ड र उपविजेता न्यूजील्याण्डवीचको यो खेल रोमान्चक हुने निश्चित छ ।

ह्वाइट बल क्रिकेटमा इङल्याण्ड अहिले विश्वकै सबैभन्दा उत्कृष्ट टिम मानिन्छ । यस खेललाई २०१९ को रोमान्चक फाइनलको रिमेक खेलको रुपमा पनि हेरिएको छ । इङल्याण्डले यस विश्वकपका लागि सन्यास फिर्ता गराएर अल राउण्डर बेन स्टोकलाई टिममा समावेश गरेको छ । स्टोकका साथै इङल्याण्डको टिममा जोनी बैरस्ट्रव, डेविड मलान, जो रुट, जोस बटलर( कप्तान), मोइन अली, लियाम लिभिङस्टोन, क्रिस वोक्स, मार्क वूड, रीच टोप्ले र अदिल राशिद जस्ता प्रमुख खेलाडीले यस टिमलाई यस विश्वकपमा पनि प्रमुख दाबेदार बनाउछ ।

त्यसैगरी न्यूजील्याण्डको टिम भने पछिल्ला महिनाहरूमा जितको लय भेटाउन संघर्ष गरिरहेको देखिन्छ । न्यूजील्याण्डका नियमित कप्तान केन विलियम्सन इन्जुरिका कारण यस खेलमा खेल्ने छैनन् । यसअघि उनले अभ्यास खेल खेलेपनि यो खेल नखेल्ने यस अघि नै न्यूजील्याण्डले स्पष्ट गरेको छ । विलियम्सनको अनुपस्थितिमा टिमको नेतृत्व टम लाथमले गर्ने छन् । न्यूजील्याण्डको टिममा डेभोन कोनभे, विल योंग, डार्यल मिचेल, ग्लेन फिलिप, मार्क चापम्यान, रचिन रविन्द्र, मिचेल सान्टनर, माट हेनरी, लकी फर्गुसन, इश सोढ़ी, टिम साउथी र ट्रेन्ट बोल्ट प्रमुख रहेका छन् ।

यो खेल अपराहन्न २: १५ बजेदेखि अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ । यस मैदानको औसत रन २४२ रहेको छ । यद्यपी पछिल्ला बर्षहरुमा टी-२० खेलको बढ्दो लोकप्रियता र ब्याट्सम्यानहरुको खेल्ने तरिका परिवर्तन भएका कारण यस विश्वकपमा धेरै रन बन्ने अनुमान गरिएको छ ।

एकदिवसीय खेलमा इङल्याण्ड र न्यूजील्याण्ड अहिलेसम्म कुल ९५ खेल खेलेका छन् । जसमा इङल्याण्डले ४५ खेल जितेको छ भने न्यूजील्याण्डले ४४ खेल जितेको छ । जसमा ४ खेलको नतिजा आएको थिएन भने २ खेल बराबर भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *