काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगको मुद्दामा आजदेखि सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश उत्तम सिलुवालको इजलासमा सोमबारबाट मुद्धाको सुनुवाइ सुरु भएको हो ।
सोमबार चलाउनेको तर्फबाट कानुन व्यवसायीहरू वसन्त जोशी, चन्द्रप्रसाद सँजेल र रमेश बडालले बहस गरेका छन भने अभियुक्तको तर्फबाट उज्वलराम घिमिरेले बहस गरेका छन् । सबै कानुन व्यवसायीहरूको बहसलाई टुंगोमा नपु¥याएपछि हेर्दाहेर्दैमा राखिएको छ । यसको सुनुवाई मंगलबार गर्ने इजलासको तयारी रहेको छ ।
उक्त मुदामा कानुन व्यवसायीहरू जोशी, सँजेल र बडालसहित २९ जनाले बहस गर्दै छन् । जसमा ओमप्रकाश अर्याल, राधिका खतिवडा, सुरज बस्नेत, सुनिता राउत बस्नेत, टीकाबहादुर कुँवर, भूपाल बस्नेत, रामबहादुर खडका, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, मोहना अन्सारी, त्रिलोकबहादुर चन्द, ज्ञानेन्द्र आरण, शिवराज श्रेष्ठ, इन्द्र अर्याल, राजुप्रसाद चापागाई, श्रीकान्त बराल, चन्द्रप्रसाद भुसाल रहेका छन् ।
यसैगरी युवराज शर्मा, ईश्वरी भट्टराई, जितेन्द्र मडई, हरि पँगेनी, रामचन्द्र पौडेल, यासुव घिमिरे, पुनदेवी महर्जन, भोजराज आचार्य र विरभद्र जोशीले पनि चलाउनेको पक्षमा बहस गर्न नाम टिपाएका छन् । चलाउनेमाथि ०७७ असोज २० गते नेविसंघका विद्यार्थी नेताहरूले सांघातिक आक्रमण गरेका थिए ।




