काठमाडौं। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहीबारको बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
वि.सं.२००९ फागुन २८ गते जन्मिएका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।
नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रिय सभा सदस्य, २०५६ सालमा प्रतिनिधि सभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य थिए ।
उनी वि.सं.२०६३ मा पुनःस्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष थिए ।
यसैगरी, २०५६ मा प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखासमिति सभापति भएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए । संविधान सभामार्फत. नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार दिनको १ बजे र राष्ट्रिय सभाको अर्को बैठक आगामी असोज १२ गते शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।




