काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा गाभ्ने सरकारको निर्णयको विरोध गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले यो निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै सरकारले तत्काल निर्णय नसच्याएमा आफुहरुको विरोध जारी रहने बताएका थिए ।
उनले भने- ‘जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालअन्तर्गत् राख्ने व्यवस्था गरियो। सभामुखमार्फत् लोतकन्त्रमाथि भएको यो षड्यन्त्रको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्छ । यो राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो। यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन। स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडिओ कार्यालयमार्फत् राख्नु यो राजनीतिक कुचेष्टा हो। र, यसले लोकतन्त्रलाई बलियो बनाउँदैन भन्ने हाम्रो ठम्याइ छ ।’
आजको वैठक शुरु हुनासाथ रास्वपाका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए ।




