देश

महिला हिंसा नियन्त्रण गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशव्यापीरूपमा महिलामाथि हत्या हिंसाका घटनामा वृद्धि भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए ।

बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद प्रतिक्षा तिवारीले गरिबी, कानुनी सचेतनाको अभावका कारण महिला हिंसा बढेको भन्दै काभ्रेपलाञ्चोकमा एक महिलाको हत्या भएको, भोजपुरमा पनि त्यस्तै गरेर महिलाको हत्या भएको बताए । उनले दिनदिनै यस्तै घटना घटिरहेको उल्लेख गर्दै महिला हिंसा नियन्त्रण गर्न र दोषीमाथि कडा कारबाहीको माग गरे ।

सांसद सुशीला थिङले सिन्धुलीको गोलञ्जोरमा आएको बाढी पहिरोका कारण ठूलो क्षति पुगेको भन्दै स्थानीय तीनमाने र भालुखोलामा जोखिममा बढेको बताए । उनले पीडित परिवारलाई राहतको प्रबन्ध गर्न माग गरे।

सांसद देवेन्द्र पौडेलले बाग्लुङको ढोरपाटनमा चट्याङका कारण जनधनको क्षति भएको, सवारी दुर्घटनामा पनि त्यस्तै क्षति भएको बताउँदै आकस्मिक घटना र दैविक प्रकोपपीडितलाई राहतको प्रबन्ध गर्न माग गरे ।

सांसद शिव नेपालीले प्राकृतिक विपत्तिबाट जोगिनका लागि नागरिकलाई नै सचेत बनाउनुपर्ने आवश्यकता औँल्याए। पछिल्लोपटक दाङमा चट्याङका कारण तीन जनाको ज्यान गएको र देशका अन्य स्थानमा पनि नागरिकको ज्यान गएको भन्दै क्षति न्यूनीकरण गर्न आवश्यक प्रबन्धको माग गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *