खेलकुद

विश्वकप छनोटअघि दक्षिण अफ्रिका भ्रमणमा जाँदै नेपाल

काठमाडौँ । जिम्बावेमा आगामी जुन-जुलाईमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी नेपालले दक्षिण अफ्रिकामा गर्ने प्रक्रिया अघि बढाएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का एक पदाधिकारीका अनुसार दक्षिण अफ्रिका भ्रमणको तयारी नेपालले सुरु गरिसकेको छ।

उनका अनुसार नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्ने योजनासहित दक्षिण अफ्रिकामा रहँदा नेपालले दुई टिमसँग अभ्यास खेल खेल्न कुराकानी भइरहेको छ ।

नेपाली टिम मे अन्तिम साता दक्षिण अफ्रिका जाने तयारीमा छ। दक्षिण अफ्रिकामा दश दिन बसेपछि नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ।

जिम्बावेमा आगामी जुन १८ देखि सुरु हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन्। दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, पूर्वविजेता श्रीलङ्कासहित आयरल्यान्ड र जिम्बावेले प्रतियोगितामा भाग लिँदैछन्।

नेपालसहित ओमान र स्कटल्यान्डले लिग–२ बाट विश्वकप छनोटमा स्थान पक्का गरेका थिए। यस्तै युएई र अमेरिकाले लिग–२ बाट विश्वकप छनोटमा स्थान बनाउन नसक्दा क्वालिफायर प्लेअफबाट जिम्बावेको टिकट काटेका थिए।

छनोट प्रतियोगिताबाट दुई टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *