खेलकुद

मिलान डर्बीमा इन्टरको सहज जित

मिलान । च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा इन्टर मिलानले एसी मिलानमाथि २ – ० गोलको जित हात पारेको छ । सान सिरोमा गएराति भएको मिलान डर्बीमा इन्टरले सुरुवाती ११ मिनेटमै २ गोल गरेको हो ।

घरेलु टोली मिलानले खेल सुरु भएको आठौं मिनेटमा पहिलो गोल खाएको थियो । इडेन जेकोले इन्टरलाई अग्रता दिलाएका हुन् । ३७ वर्ष ५४ दिनका जेको च्याम्पियन्स लिगको सेमिफाइनलमा गोल गर्ने बढी उमेरका दोस्रो खेलाडी हुन् । यसअघि सन् २०११ अप्रिलमा म्यानचेस्टर युनाइटेडका रायन गिग्सले ३७ वर्ष १ सय ४८ दिनमा साल्केविरुद्ध गोल गरर्का थिए ।

एघारौँ मिनेटमा इन्टरले अग्रता दोब्बर पार्दा मिलान समर्थक स्तब्ध बने । यो पटक हेनरिक मेखिटरियाले गोल गरे । ३१ औं मिनेटमा इन्टरले पेनाल्टी पाए पनि भिएआरले मान्यता नदिएपछि मिलान थप गोल खानबाट जोगियो ।

दोस्रो हाफमा मिलानले सुधारिएको प्रदर्शन गर्‍यो । तर उसले पहिलो सट अन टार्गेटका लागि ८१ औं मिनेटसम्म कुर्नु पर्‍यो । ओलिभर जिरुडले गोलको केही मौका गुमाएका थिए । पछिल्ला पाँच खेल यता अपराजित इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुग्ने लक्ष्यमा छ ।

अब यी दुई बीच १६ मेमा दोस्रो लेगमा भेट हुनेछ । विजेता टिमले फाइनलमा रियाल मड्रिड र म्यानेचस्टर सिटीमध्ये एकसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सन् २०१० यता इटालियन क्लबले च्याम्पियन्स लिग जित्न सकेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *