काठमाडौं । ‘आईसीसी विश्व क्रिकेट लिग टु’ त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौंमा सुरु भएको छ ।
पहिलो खेलमा अहिले नेपालले नामिबियासँग खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।
नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित ‘आईसीसी विश्व क्रिकेट लिग टु’ त्रिकोणात्मक सिरिज आजदेखि सुरु भएको हो ।
रोहित पौडेलको कप्तानीमा मैदान उत्रिएको नेपाल लिग टुमा नामिबियालाई पहिलो पटक पराजित गर्ने लक्ष्यमा छ ।
यसअघि भएका चार खेलमा तीनमा नेपालले हार व्यहोरेको थियो । एक खेल वर्षाका कारण रद्द भएको थियो ।
गत जुलाइमा स्कटल्यान्डमा भएको सिरिजमा नेपाल नामिबियासँग पहिलो खेलमा ४० र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।
डिसेम्बरमा फेरि नामिबिया र नेपाल आमनेसामने भएका थिए । पहिलो खेल वर्षाले हुन सकेन । दोस्रो खेलमा नेपालले ८६ रनको फराकिलो हार व्यहोर्यो ।
नेपालले लिग टु्का कुल ३६ मध्ये २४ खेल खेलिसकेको छ । १४ मा जित, १८ मा हार र एकमा बराबरीको नतिजाका साथ १८ अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ।
ओडीआई सिधै जोगाउन नेपाललाई बाँकी १२ मध्ये कम्तीमा ९ खेलमा जित हात पार्नु पर्नेछ । त्यसैले घरेलु मैदानका चार खेलले नेपालको आगामी भविष्य तय गर्नेछ ।
नामिबिया ३० खेलबाट ३७ अंक बटुल्दै तेस्रो स्थानमा छ । नेपालसामू घरेलु मैदान र समर्थकको फाइदा रहनेछ । यही खेलमार्फत मोन्टी देसाइले नेपालको प्रशिक्षकका रुपमा डेब्यु गर्दैछन् ।




