देश

देशभरमा आज भएका अपराधसम्बन्धी समाचार (समाचार संग्रह)

जिविस कालिकोटका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राज बहादुर बम विरुद्ध भ्रष्टाचाचर मुद्दा दायर गरेको छ ।

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दैै अख्तियारले आज उनी विरद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आर्थिक बर्ष २०७०/७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि उनीमाथि अख्तिारले अनुसन्धान सुरु गरेको थियो

अनुसन्धान हुँदा बमले झुट्टा बिल बनाई रकम हिनामिना गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीसँग २ लाख ३४ हजार ११ रुपैयाँ बिगो दाबीग गरिएको छ ।

वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरत बहादुर बुढथापासहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–१४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्ने क्रममा उनीहरुले रकम हिनामिना गरेको भेटिएपछि विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा डिभिजन वन कार्यालय मुगुका सव–इन्जिनियर हिमाल कुमार मल्ल, सव–इन्जिनियर गोरसिंह बढुवाल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढा रहेका छन् ।
अख्तियारले दायर गरेको मुद्दामा उनीहरुसँग २० लाख ४८ हजार ४०३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

होर्डिङ बोर्ड निर्माण गर्दा ३ लाख २६ हजार भ्रष्टाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोट जिल्लाका तत्कालीन एलएपीए कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गर्दा खनालले भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


साविक जिल्ला विकास समितिको कार्यालय कालिकोटबाट आर्थिक बर्ष २०७०/७१ मा सञ्चालन भएका बिभिन्न कार्यक्रमको प्रचारप्रसार कार्यक्रममा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले खनालमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा आर्थिक वर्ष २०७०/७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको खुल्न आएको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानका क्रममा खनालले ३ लाख २६ हजार ४९७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । असैअनुरुप अख्तियारले आज दायर गरेको मुद्दामा खनालसँग ३ लाख २६ हजार ४९७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

कालिकोटको तत्कालिन जिल्ला कृषि विकास कार्यालयका प्रासविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला कृषि बिकास कार्यालय कालिकोटका प्रा.स. रत्न प्रसाद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रमको उनले ३ लाख ८८ हाजर ७५० रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आर्थिक बर्ष २०७०/७१ मा जिल्ला कृषि विकास कार्यालय कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उक्त कार्यक्रममा पाण्डेले झुट्टा बिल बनाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

दायर गरिएको मुद्दामा उनीसँग ३ लाख ८८ हाजर ७५० रुपैयाँ बिगो दाबी गरिएको छ ।

कालिकोटमा प्रशोधन केन्द्रको भवन निर्माणमा अनियमितता, तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको मान्म–८ ताडीस्थित अल्लो भाँगो प्रशोधन केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द प्रसाद पाण्डेसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भवन निर्माण कार्यमा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै उनीहरु विरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा अल्लो भाँगो प्रशोधन केन्द्र कालिकोटको भवन निर्माण उपभोक्ता समिति र सोका जिम्मेवार पदाधिकारी सचिव नरेन्द्र प्रसाद पाण्डे र कोषाध्यक्ष बिनिता राना (पाण्डे ) रहेका छन् ।

आर्थिक बर्ष २०७०/७१ मा सुरु भएको अल्लो भाँगो प्रशोधन केन्द्रको भवन निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा भवन निर्माण कार्यमा झुट्टा बिल बनाई २ लाख ५१ हजार ५२९ रुपैयाँ हिनामिना भएको ठहर अख्तियारले गरेको छ । मंगलबार दायर गरिएको मुद्दामा उनीहरुसँग त्यति नै रकम बिगो दाबी गरिएको छ ।

७४ लाख नगद र २६ लाखको चेकसहित काठमाडौंबाट तीन हुण्डी कारोबारी पक्राउ
काठमाडौंको नरदेवीबाट गैरकानुनी रुपमा हुण्डी कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनसन्धान महाशाखाको टोलीले भारतीय नागरिक राजु अग्रवाल, सिन्धुली घर भई जोरपाटी बस्ने रामहरि दुलाल र रौतहट घर भई चावहिल बस्ने सुदीप आचार्यलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७४ लाख नगद र २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको ९ वटा चेक बरामद गरेको छ । उनीहरुलाई सोमबार साढे ५ बजे पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *