स्थानीय तह निर्वाचन-२०७९

जिसस प्रमुख दावेदार श्रेष्ठ वडा सदस्यमै पराजित

हेटौंडा। जिल्ला समन्वय समिति प्रमुख बन्ने उद्देश्यसहित वडा सदस्य पदमा चुनाव उठेका हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडाका निवर्तमान अध्यक्ष गोपाल श्रेष्ठ पराजित भएका छन् ।

एक कार्यकाल वडाध्यक्ष भैसकेका श्रेष्ठ यस पटक समन्वय समितिको प्रमुख बन्ने योजनासहित वडा सदस्यमा उठेका थिए । उनलाई गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गोरख रायले हराएका हुन् । नेकपा एमाले मकवानपुरका सचिवालयसदस्यसमेत रहेका उनी वडा सदस्यमै पराजित भएका हुन् ।

रायले २ हजार १२० मत पाउँदा श्रेष्ठले १ हजार ९४१ मत ल्याएका थिए । श्रेष्ठसँगै जिसस प्रमुखका अर्का आकांक्षी देवराज रिमाज पनि वडामै पराजित भएका छन् । रिमाल भने ७ नम्बर वडाबाट सदस्यमा चुनाव उठेका थिए ।

योसँगै हेटौंडा उपमहानगरपालिका–८ मा एमालेको लामो समयदेखिको एकाधिकार तोडिएको छ । वडाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका नेता राम थापा विजयी भएका छन् । एमालेका बोलबहादुर कार्कीलाई हराउँदै थापा विजयी भएका हुन् । थापाले २ हजार २१३ मत प्राप्त गर्दा कार्कीले १ हजार ९६८ मत ल्याएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *