काठमाडौं । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु गाउपालिका भित्र जनताको गुनासो सुन्न नपर्ने गरि स्थानीयको काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रबार गाउँपालिकामा वडा अध्यक्ष तथा सदस्यको सपथ तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै शेर्पाले जनप्रतिनिधि नभएको महशुश नहुनेगरी काम गर्ने समेत बताए । उनले भने,‘निर्वाचित जनप्रतिनिधिले जनताले कुनैपनी दिनमा काम नभएको र जनप्रतिनिधि नभएको भन्ने गुनासो आउन थाले त्यस्ता जनप्रतिनिधि र कर्मचारीलाई तत्काल कारबाही गरिन्छ ।’
शुक्रवार पद तथा गोपनीयताको सपथ लिएका हेलम्बुका जनप्रतिनिधिलाई समेत गुनासो नआउनेगरी काम गर्न उनले सुझाव दिएका छन् । उनले भने,‘गाउँपालिकाका प्रत्येक वडामा अध्यक्ष भेटिएन, वडामा कर्मचारी भेटिएन भन्ने गुनासो नहुने गरि काम गुर्नुहोस् ।’
‘हाम्रो अगाडि जनताको समस्यको समाधान गर्नपर्ने ठुलो चुनौती छ, त्यसलाई तपाईं हामिले सहजै तरिकाले पार लगाउन पर्ने हुन्छ, त्यसैले जनतालाई सधैं खुसी बनाएर काम गर्नुस् ।’ उनले भने ।
मेलम्ची बाढीबाट विस्थापित भएका स्थानीयलाई पालिकाले ब्यबस्थापन गर्नु पर्ने अवस्था रहेको भन्दै उनले जनतालाई भगवान मानेर काम गर्नुपर्ने समेत बताए ।




