काठमाडौं । आज गृहमन्त्री बालकृष्ण खाणले भैरहवाको नारायणस्थान मन्दिरमा वैद्धिक परम्पराअनुसार पूजा गरेका छन् । गृहमन्त्रीसहित काँग्रेसका तर्फबाट सिद्धार्थनगरका प्रमुखका उम्मेदवार इस्तियाक अहमद खान, माओवादी केन्द्रको तर्फबाट उपप्रमुखका उम्मेदवार कमला थापा लगायतले वैद्धिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना व्यक्त गरेका छन् ।
यही अवसरमा गृहमन्त्री खाणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिएका छन् । उनले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेष खाले परम्परा भएकाले सबै धर्मावलम्बीले एक अर्काको सम्मान गर्नुपर्ने समेत उनले उल्लेख गरेका छन् ।
धर्म, जातजाति, क्षेत्रीयता, लैङ्गिक, भाषाका आधारमा कसैले राजनीति वा समाजलाई विभाजन गर्न खोज्छ भन्ने त्यसले केही व्यक्तिलाई फाइदा पुर्याए पनि आमनागरिकलाई बेफाइदा हुने उनको तर्क रहेको छ ।
गृहमन्त्री खाणले यस्ताखाले क्रियाकलाप सामाजिक र कानुनी रुपमा बर्जित रहेको बताउँदै कसैले समाज र कानुन विपरीतका गतिविधि गरेमा आमनागरिक बेलैमा सचेत हुनुपर्नेमा समेत जोड दिए ।




